Rule 42
बढुवाको लागि उम्मेदवार हुन नपाउने
: (१) नियम ४० मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै पनि सशस्त्र प्रहरी कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैन :–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा बढुवा रोक्का भएको अवधिभर,
(ग) तलबवृद्धि रोक्का भएकोमा तलबवृद्धि रोक्का भएको अवधिसम्म,
(घ) तलबबृद्धि घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(ङ) खाइपाइ आएको सुरु स्केलमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(च) नसिहतको सजाय पाएकोमा सो पाएको मितिले एक वर्षसम्म,
(छ) नेपाल सरकारबाट विशेष अनुमति लिई संयुक्त राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय संस्थामा काम गर्न जाने सशस्त्र प्रहरी कर्मचारीको हकमा निजले त्यसरी काम गर्न जानु अघि गरेको शर्तनामा बमोजिमको अवधिसम्म,
(ज) ऐनको दफा २७ बमोजिमको कसूरमा बिशेष अदालतमा मुद्दा बिचाराधीन भएसम्म,
(झ) एकपटक सेवाबाट हटी पुनर्बहाली भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा निजले रिफ्रेसर तालीम सम्पन्न नगरेसम्म ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सशस्त्र प्रहरी बलको स्थापना भएपछी खुल्ला प्रतियोगिताद्धारा नियुक्ति भई साधारण समूह अन्तरगत साधारण उपसमूहमा रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत कर्मचारीले नियम ४८ को उपनियम (१) बमोजिमको ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालीम नलिएसम्म सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवाको लागि उम्मेदवार हुन योग्य हुने छैन ।